(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो । यस पुस्तकका अन्य समाग्री क्रमै सँग प्रकाशित गर्दै जानेछौं ।)
नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित
मुलुक हो । यो समुद्रदेखि करीब
११२७ कि.मि. टाढा छ । यो एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१
वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ ।
नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट
उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कूल भूभागको ०.०३ प्रतिशत र एसिया
महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ । यसको दक्षिणमा भारतको विहार राज्य, पश्चिममा
भारतको उत्तराखण्ड राज्य, पूर्वमा
पश्चिम बङ्गाल र उत्तरतर्फ
चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । विश्वका ८,००० मिटरभन्दा उच्च १४ चुचुराहरूमध्ये नेपालमा ८
वटा पर्छन् । ६,००० मिटर र सोभन्दा
अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र
यस्ता लगभग ३०१ चुचुराहरू रहेका
छन् । नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् । भू–स्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक
विभिन्नताले गर्दा उष्ण (Tropical), अर्धोष्ण (Mesontermal), सूक्ष्म तापीय (Micro thermal), टाइग्रा र तुन्द्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् । नेपालको
भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको
अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल
सगरमाथाको देश, गौतम
बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो
ध्रुबको देश
तथा विशिष्ट झण्डाको देशको रूपमा समेत परिचित छ ।

0 Comments