Ad Code

Responsive Advertisement

नेपालमा जलश्रोत

१.३.४ जलश्रोत   

नेपाल समुद्री सुविधाबाट बञ्चित भए पनि जलसम्पदाको दृष्टिले ब्राजिलपछि विश्वको दोश्रो सबैभन्दा संवृद्ध र एसियाको पहिलो राष्ट्र मानिन्छ । नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन् । नेपालका तीन ठूला नदीहरू कोशी, गण्डकी र कर्णालीको जलभण्डार क्षमता १ लाख ४८ हजार क्युविक मिटर अर्थात कूल जलभण्डार क्षमताको ७४ प्रतिशत रहेको छ । कूल जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको छ । नेपालका साना ठुला नदीहरूको प्रवाह, जलभण्डार र उपयोगिताका दृष्टिले नदीहरूलाई निम्नानुसार ३ श्रेणीमा वर्गीकरण गर्न सकिन्छ ।

(क) पहिलोस्तरका नदी

हिमालको हिउँ पग्लेर वा हिमालयबाट उत्पत्ति भई निरन्तर रूपमा ठूला जलराशिका साथ प्रवाहित हुने सप्तकोशी, सप्तगण्डकी र कर्णालीजस्ता ठूला नदीहरू पहिलो स्तरका नदी हुन् । यस्ता नदी ठूला जलविद्युत् र सिँचाइ आयोजनाहरूका लागि उपयोगी मानिन्छन् ।

(ख) दोश्रोस्तरका नदी

हिमालय पर्वतभन्दा तलको महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भई कहिल्यै नसुक्ने निरन्तर रूपमा जलप्रवाहित हुने भएता पनि वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको मात्रा निक्कै घट्ने मेची, कनकाई, त्रिजुगा, कमला, बाग्मती, वाणगङ्गा, तिनाऊ, राप्ती, बबई, मोहना आदि दोश्रो स्तरका नदीहरू हुन् ।

(ग) तेश्रोस्तरका नदी

महाभारत पर्वत शृङ्खलाभन्दा तलको शिवालिक पर्वतमाला चुरेपहाडबाट उत्पत्ति भई मनसुनमा निकै ठूलो रूप लिए पनि हिउँदमा निकै कम पानी हुने वा सुक्ने अस्थायी प्रकृतिका नदीहरू तेश्रो स्तरका नदी हुन् । यस्ता नदीहरूमा सिर्सिया, तिवाले, जमुनी, हर्दिनाथ, डुण्डुवा, सुनसरी, अजुर्न खोला आदि पर्दछन् । यस्ता नदीहरू वर्षे खेतीका लागि सिँचाइ गर्न उपयोगी हुन्छन् ।

(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो । यस पुस्तकका अन्य समाग्री क्रमै सँग प्रकाशित गर्दै जानेछौं ।)

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement