Ad Code

Responsive Advertisement

विन्डोजका महत्वपूर्ण शर्टकट कीहरु


कम्प्युटर चलाइरहँदा कुनै काम गर्नका लागि माउसबाट क्लिक गर्दै जानु वा मेन्यूमा नेभिगेट गर्नुको साटो एउटा किबोर्ड शर्टकर्ट कीले काम भ्याउन पाउँदा निकै सजिलो तथा समयको बचत पनि हुन्छ । एकपटक कम्प्युटरमा काम गर्दा दुई/चार पटक शर्टकट की प्रयोग गरेर केही सेकेण्ड वा मिनेट समय बचाउनु खासै ठूलो कुरा लाग्दैन । तर हरेक दिन, महिना तथा वर्षौंसम्म कम्प्युटर चलाउँदा यसरी हरेक दिन बचाएको समय जोड्ने हो भने निकै उल्लेख्य समय बचत हुँदोरहेछ ।

त्यसैले कम्प्युटर चलाउनेले विन्डोजले उपलब्ध गराएका शर्टकट कीहरुबारे जान्नु निकै उपयोगी हुन्छ । यसले तपाईंको डिजिटल व्यवहारमा स्मार्टनेस ल्याउने तथा समयको बचत गराई कार्यदक्षतामा पनि वृद्धि गर्न सक्दछ । यहाँ माउसलाई झण्डै निकम्मा नै बनाउने २० वटा अति महत्वपूर्ण शर्टकट कीहरुको बारेमा जानकारी प्रस्तुत गरिएको छ ।

Ctrl+Z: Undo – यसले तपाईंले कम्प्युटरमा तत्काल गरिरहेको कार्यभन्दा अघिल्लो कार्यमा फिर्ता लैजान्छ । जब तपाईंले माइक्रोसफ्ट वर्डमा लेखिरहँदा कुनै एक प्याराग्राफलाई नै ओभरराइट गर्नुभयो वा गल्तीले फाइलको सामाग्री डिलिट गर्नुभयो भने यो शर्टकट की जीवनदायिनी बन्दछ ।

Ctrl+W: Close – यो शर्टकट की ले तपाईंले कम्प्युटरमा हेरिरहेको विन्डोजलाई बन्द गरिदिन्छ । चाहे फाइल एक्सप्लोरर विन्डोज होस् वा ब्राउजर ट्याव अनि इमेज फाइल बन्द गर्न नै किन नहोस् यो शर्टकट की प्रयोग गरिसकेपछि तपाईंले क्लोज बटनमा गएर थिचिरहनु परेन ।

Ctrl+A: Select all – यो शर्टकट कीले कुनै डकुमेन्टको सबै टेक्स्टलाई हाइलाइट गर्ने वा कुनै फोल्डरमा रहेका सबै फाइललाई कभभिअत गर्न सहयोग गर्दछ । माउस क्लिक गर्ने र ड्रयाग गरेर टेक्स्ट वा फाइल सेलेक्ट गर्नुको साटो यो शर्टकट की ले एकै पटकमा त्यो काम गरिदिन्छ ।

Alt+Tab: Switch apps – यो क्लासिक विन्डोज शर्टकट हो र तपाईंले विन्डोजमा एकसाथ धेरै एप्लिकेसनहरु चलाइरहनुभएको छ भने निकै उपयोगी हुन्छ । तपाईंले मात्र Alt+Tab थिचेसँगै तपाईंको कम्प्युटरमा खोलिसकेका सबै विन्डोज देखा पर्नेछन् र तपाईंले एकबाट अर्कोमा सजिलै जान सक्नुहुन्छ ।

Alt+F4: Close apps – यो निकै नै उपयोगी तथा तपाईंको कामलाई निकै सजिलो पार्ने पुरानो विन्डोज शर्टकट की हो । यसले कम्प्युटरमा खोलेका सबै सक्रिय एप्हरुलाई बन्द गरिदिन्छ । जसका कारण तपाईंले एक/एक गरेर ती एपहरुको अनस्क्रिन मेन्यू खोजिरहनु पर्दैन । साथै यो कमाण्डबाट फाइल बन्द गर्दा सम्बन्धित फाइल सेभ गर्नुपर्छ कि पर्दैन ? भनेर सोध्ने हुनाले तपाईंले सेभ नभइकन फाइल बन्द हुन्छ कि भनेर चिन्ता गर्नु पनि पर्दैन ।

Win+D: Show or hide the desktop – यसले कम्प्युटरमा खोलेका सबै विन्डोजलाई मिनिमाइज गरेर होम स्क्रिनलाई देखाइदिन्छ । यदि तपाईंले आफ्नो डेस्कटपमा थुप्रै फाइल तथा शर्टकटहरु फाइलहरु राख्नुभएको छ भने यो शर्टकट की ले क्षणभरमै त्यसलाई फेला पार्न सहयोग गर्दछ ।

Win+left arrow or Win+right arrow: Snap windows – यसले कुनै दुईवटा विन्डोजलाई स्क्रिनको दायाँ वा बायाँ राखेर तुलना गर्दै कम्प्युटरमा काम गर्न सहज बनाउँदछ । त्यसैले कम्प्युटरमा अध्ययन तथा अनुसन्धान गर्नेका वा फाइलको तुलनात्मक अध्ययन गर्नका लागि समेत यो शर्टकट की निकै उपयोगी देखिन्छ ।

Win+Tab: Open the Task view – यसले पनि Alt+Tab  ले जस्तै एपहरु स्विच गर्न सहयोग गर्दछ र यसो गर्दा अपडेटेड विन्डोज एप्लिकेसन स्विचर पनि खोल्दछ । यसको पछिल्लो भर्सनमा कम्प्युटरमा खोलिएका सबै प्रोग्रामका थम्बनेल स्क्रिनमा देखा पर्दछन् ।

Tab and Shift+Tab: Move backward and forward through options – जब तपाईंले डायलग बक्स खोल्नुहुन्छ यी शर्टकट की ले तपाईंलाई उपलब्ध विकल्पहरुमा अगाडि वा पछाडि लैजान सहयोग गर्दछन् । धेरै ट्याब भएको डायलग बक्स छ भने त्यसमा नेभिगेट गर्नका लागि Ctrl+Tab वा  Ctrl+Shift+Tab को प्रयोग गर्नुहोस् ।

Ctrl+Esc: Open the Start menu – यदि तपाईंले विन्डोज की नभएको किबोर्ड प्रयोग गरिरहनुभएको छ भने यो शर्टकट की ले Start मेन्यू खोल्न सहयोग गर्दछ । यदि किबोर्डमा विन्डोज की नै छ भने त त्यसमै थिचे पुग्दछ ।

F2: Rename – फाइललाई छान्नुहोस् रF2 थिच्नुहोस् अनि तपाईंले फाइललाई रिनेम गर्न अर्थात् अर्को नाम राख्न सक्नुहुन्छ । यो कमाण्डले तपाईंलाई अन्य फाइलमा टेक्स्ट सम्पादन गर्न पनि सहयोग गर्दछ । जस्तै माइक्रोसफ्ट एक्सेल फाइल खोलेर F2 थिच्ने, त्यसपछि तपाईंले त्यहाँ कुनैपनि खण्डको सामाग्री इडिट गर्न सक्नुहुन्छ ।

F5: Refresh– यो कीले पेज रिफ्रेस गर्न सहयोग गर्दछ । जब तपाईं फाइल एक्स्प्लोरर वा वेब ब्राउजर प्रयोग गरिरहनुभएको हुन्छ तब रिफ्रेस की निकै उपयोगी हुन्छ ।

Win+L: Lock your computer – आफ्नो टेबलको कम्प्युटर खुल्लै छाडेर केहीबेर कतै जानुपर्ने भयो भने आफ्नो कम्प्युटरलाई कुनै गलत नजरबाट सुरक्षित राख्न यो की निकै उपयोगी हुन्छ । यो कीले कम्प्युटरलाई लक गर्दछ र लगइन स्क्रिन देखाउँदछ । कम्प्युटर खोल्नका लागि पुनः युजर अकाउन्टको पासवर्ड हाल्नुपर्दछ ।

Win+I: Open Settings – तपाईंले आफ्नो विन्डोज configure गर्न चाहनुहुन्छ भने सेटिंग्स डायलग खोल्नका लागि सिधै यो शर्टकट की प्रयोग गर्न सक्नुहुन्छ ।

Win+S: Search Windows – सिधै विन्डोजको सर्च बक्समा गएर आफूले चाहेको कुरा खोज्नका लागि तपाईंले यो शर्टकट की प्रयोग गर्न सक्नुहुन्छ ।

Win+PrtScn: Save a screenshot – तपाईंले आफ्नो कम्प्युटरको स्क्रिनशट लिनका लागि यो शर्टकट की थिचेसँगै स्क्रिनको तस्वीर PNG फाइलको रुपमा कम्प्युटरको Picture Folder  भित्र रहेको screenshot फोल्डरमा गएर सेभ हुन्छ । साथै विन्डोजले क्लिपबोर्डमा समेत उक्त तस्वीर कपी गर्दछ ।

Ctrl+Shift+Esc: Open the Task Manager – Task Manager यस्तो विन्डो हो जहाँ  विन्डोज सिस्टमको खुल्ला प्रोग्रामदेखि ब्याकग्राउण्ड प्रोसेससम्म सबै कुराको व्यवस्थापन हुन्छ । यो शर्टकट कीले टास्क म्यानेजर खोल्दछ र त्यसबाट तपाईंले आफूले चाहेको एप्लिकेसनमा जान सक्नुहुन्छ ।

Win+C: Start talking to Cortana- यो आधुनिक शर्टकट कीले Cortana लाई listening मोडमा राख्दछ । यसका लागि तपाईंले सुरुमा टास्कबारको सर्च बक्सबाट कोर्टाना खोलेर अयन आइकनमा क्लिक गरेर कीबोर्ड शर्टकट अप्सन खोल्नुपर्दछ । यति गरेपछि तपाईंले माथिको कीबोर्ड शर्टकट थिचेर डिजिटल एसिस्टेन्ट कोर्टानासँग कुरा गर्न सक्नुहुन्छ ।

Win+Ctrl+D: Add a new virtual desktop – कम्प्युटरमा भर्चुअल डेस्कटप भनेको दोस्रो स्क्रिन हो, जहाँ तपाईंले आफ्ना केही एप्लिकेसन तथा विन्डोजलाई लगेर थप काम गर्न सक्नुहुन्छ । यो शर्टकट कीले भर्चुअल डेस्कटप खोल्न सहयोग गर्दछ । जब तपाईंले नयाँ भर्चुअल डेस्कटप खोल्नुहुन्छ तब टास्कबारको सर्च बक्सको Task Viewबटनमा क्लिक गरेर एक डेस्कटपबाट नयाँ डेस्कटपमा जान सक्नुहुन्छ । साथै Win+Ctrl+arrow  शर्टकट की प्रयोग गरेर पनि तपाईंले भर्चुअल डेस्कटपसम्म पुग्न सक्नुहुन्छ ।

Win+X: Open the hidden menu – विन्डोजमा लुकेको Start मेन्यू हुन्छ जसलाई Quick Link मेन्यू भनिन्छ । यसबाट तपाईं सिधै Device Manager मा गएर प्रिन्टर, किबोर्ड जस्ता कम्प्युटरमा जोडिएका कुनै पनि हार्डवेयर म्यानेज गर्न सक्नुहुन्छ ।

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement